न्युजिल्याण्डमा जारी च्यापेल हाड्ली एकदिवसीय क्रिकेट श्रृंखलाको उपाधि अष्ट्रेलियाले जितेको छ । अक्ल्याण्डमा भएको चौथो खेलमा घरेलु टोलीमाथि ६ विकेटको जित दर्ता गराउँदै अष्ट्रेलियाले श्रृंखला ३-१ ले कब्जा गरेको हो । खेलमा टस हारेर पहिले व्याटिङ्ग गरेको घरेलु टोली न्युजिल्याण्डले ४४ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर २ सय ३८ रन बनायो । न्युजिल्याण्डका लागि ब्रान्डम म्याककुलमले ६१ रनको योगदान दिए । अष्ट्रेलियाका नाथन हाउरिजले र्सवाधिक तीन विकेट लिए । जवाफमा व्याटिङ्गमा उत्रिएको अष्ट्रेलियाले वर्षाका कारण प्रभावित खेलमा ३४ ओभरमा २ सय रनको नयाँ लक्ष पायो । कप्तान रिकी पोन्टीङ र क्यामरुन हृवाइटको अर्धशतकको मद्दतले अष्ट्रेलियाले सो लक्ष्य ३१ दशमलब १ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । बलिङ्गतर्फन्युजील्याण्डका कप्तान डानियल भिट्टोरीले २ विकेट हात पारे । श्रृंखलाको पाँचौ तथा अन्तिम खेल शनिबार विलिङ्गटनमा हुनेछ ।