प्रमाण पत्र तह हटाउने त्रिभुवन विश्वविद्यालयको निर्णयको विरोधमा ११ विधार्थी संगठनले आज भक्तपुर, सानोठिमीस्थित उच्च माध्यामिक शिक्षा परिषदका उपाध्यक्ष डा. उपेन्द्र कोइराला र सदस्य सचिव रामबहादुर खड्काको कार्यकक्षमा तालाबन्दी गरेका छन् । पूर्वाधार विना नै प्रमाण पत्र तह हटाइएको भन्दै ती विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका हुन ।तीन वटा प्रमुख दल सम्वद्ध विद्यार्थी संगठनसंगको सहमतिमा त्रिविले यस बर्षेखि प्रमाणपत्र तह खारेज गरेको थियो । अहिलेको विरोधमा ठूला विद्यार्थी संगठन सहभागी छैनन् । आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले भने प्रमाणपत्र तह हटाउने सहमति नभएको दाबी गरेका छन् । उनीहरुले त्रिविले प्रमाण पत्र तहमा भर्ना लिनुपर्ने लगायतका ६ सूत्रीय माग राखेका छन् । उनीहरुले त्रिवि अर्न्तर्गतका आंगीक क्याम्पसहरुमा पनि तालाबन्दी गरी पठनपाठनमा आवरोध गरेका छन् ।