Jul 29, 2010 19:45:28
सञ्चारमन्त्री
» Nep » Eng
March 12, 2010 -- Updated 1116 GMT (1701 NST)

सञ्चारमन्त्री शंकर पोखरेलले नेपाली सञ्चारकर्मीहरुमा वक्ताको कुरा पूरा नसुन्ने र वक्ताको भनाइको आशय नबुझी समाचार लेख्ने प्रवृत्ति बढेको जिकिर गर्नु भएको छ । प्रेस काउन्सिलको ४०औँ वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहांले वक्ताको आशय नबुझी समाचार सम्प्रेषण गर्दा आमसञ्चार क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो । आफ्ना कतिपय अभिव्यक्तिलाई पत्रकारले आफ्नै अर्थमा बुझेर लेख्ने गरेको भन्दै सञ्चारमन्त्रीले यस्तो प्रवृत्ति त्याग्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । प्रधानन्यायाधीश अनुपराज शर्माले प्रभावकारी आचारसंहिता र ऐन नियमसहितको प्रेस स्वतन्त्रता भएमात्र पत्रकारिताको विकास हुने बताउनुभयो । सो अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गरेका ६ जनालाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेहरुमा गोपालदास श्रेष्ठ पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार हरिहर विरही, आचारसंहिता पत्रकारिता पुरस्कारबाट घमराज लुइँटेल, भाषा पत्रकारिता पुरस्कारबाट उपेन्द्र भगत, साहित्यक पत्रकारिता पुरस्कारबाट मोहन दुवाल तथा गोविन्द वर्तमान र महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट लोकसरी कुँवर हुनुहुन्छ । त्यस्तै प्रेस काउन्सिलका उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।