उपप्रधानमन्त्री सुजाता कोइरालाले मेसिन रिडेबल पासपोर्ट -एमआरपी) छपाइको काम भारतलाई नै दिने बचन दिईसकेको खुलासा गर्नु भएको छ । सो काम भारतलाई नै दिनुपर्ने अडान पनि उहांले लिनु भएको छ । राष्ट्रसंघीय मानव अधिकार परिषद्को १३औं उच्चस्तरीय बैठकमा सहभागी भई आज स्वदेश र्फकनु भएकी कोइरालाले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै एमआरपी छपाइका लागि पहिलो प्रस्ताव भारतले नै राखेकोले अरु विकल्पबारे सोच्न पनि नसकिने वताउनुभयो । राष्ट्रिय सुरक्षाका दृष्टिकोणले छिमेकी मुलुकमा पासपोर्ट छाप्न दिन नमिल्ने संचारकर्मीको जिज्ञासाको प्रतिबाद गर्दै उहाँले व्यक्तिगत विवरण र फोटो परराष्ट्र मन्त्रालयमै छापिने भएकोले राष्ट्रिय सुरक्षाको प्रश्न उठाउन नमिल्ने जिकिर गर्नुभयो । उहाँले आफ्नो प्रस्ताव विपरित एमआरपी भारतमा नछाप्न निर्देशन दिएको लेखा समितिका सभापति रामकृष्ण यादबलाई पनि भ्रमणमा लानु अनुचित नभएको दाबी पनि गर्नुभयो । १२ दिन अघि स्वीट्जरल्याण्ड जानुभएकी परराष्ट्रमन्त्री कोइरालाले नर्वे, फिनल्याण्ड र बेल्जियमको पनि भ्रमण गर्नुभएको थियो ।