शान्ति तथा पूर्ननिर्माण मन्त्रालयले संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिमले दिएको परिचय पत्रको नक्कल प्रति बनाई माओवादी लडाकुले शिविरमा नरहेका लडाकुको पनि तलब भत्ता बुज्दै आएको दाबी गरेको छ । प्रमाणित लडाकुका लागि अनमिनले जारी गरेको परिचयपत्रको साइडमा बारकोड राखिएको भएपनि त्यसको जाँच नहुँदा नक्कली परिचयपत्र बनाई गैर लडाकुले तलव थापिरहेको मन्त्रालयको भनाई छ । विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग शान्ति मन्त्रालयमा आज भएको छलफलमा शान्तिमन्त्री रकम चेम्जोङ्गले परिचयपत्रको बारेमा अनमिनले तत्काल छानविन गरी सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । अनमिनले जारी गरेको कार्डलाई आधार मानेर शिविरका लडाकूहरुलाई सरकारले तलब दिँदै आएको भन्दै मन्त्री चेम्जोङ्गले अयोग्य, शिविर छोडेका तथा मृत्यु भैसकेका लडाकुको नाममा समेत माओवादीहरुले तलव थापिरहेको जिकिर गर्नुभयो । उहाँले मानव अधिकारवादी तथा पत्रकारहरुलाई तलव वितरण प्रक्रियाबारे पर्यवेक्षकको भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । नेपाल बार एसोसिएसनका पुर्व अध्यक्ष विश्वकान्त मैनालीले अन्मिनसँग भएको परिचयपत्र, तलव लिने लडाकु तथा सरकारी प्रतिनिधिसंग छलफल गरी लडाकुलाई रकम दिएमा पारदर्शी हुनसक्ने धारणा राख्नुभयो ।