कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति खस्कँदै गएको बताइएकै बेला चिकित्सकहरुले भने चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । आज विहान कोइरालाको स्वास्थ्य परिक्षण गर्दै चिकित्सकहरुले निमोनियाका कारण कोइरालाको स्वास्थ्य अवस्था केही बिग्रिएको भएपनि विदेशै लैजानु पर्ने अवस्था नरहेको बताएका हुन । कोइरालाको स्वास्थ्यस्थिति ठीकै रहेको र तत्काल विदेश लैजानु नपर्ने डा. अर्जुन कार्कीले बताउनुभयो । कोइराला स्वयंले पनि उपचारका लागि तत्काल विदेश नजाने स्पष्ट पार्नुभएको बताइएको छ । कोइरालाका आफन्त तथा कांग्रेस नेताहरुले उहाँलाई भारतको नयाँ दिल्ली लैजाने तयारी गरेका थिए । फोक्सो र दमको समस्याले ग्रस्त हुनुभएका कोइरालालाई केही दिनदेखि २४सै घण्टा अक्सिजन दिएर राखिएको छ । कोइरालालाई भेट्न कांग्रेसका नेताहरु कोइराला निवास पुगेका थिए ।