| राष्टसंघीय उपमहासचिव
|
» Nep » Eng
March 11, 2010 -- Updated 1015 GMT (1600 NST)
|
संयुक्त राष्टसंघका उपमहासचिव बी. लिन पास्कोले नेपालको शान्ति प्रकृया गम्भीर मोडमा पुगेको बताउनुभएको छ । राष्ट्रसंघीय मिसन अन्मिन र नेपाल सरकारबीचको सम्बन्ध चिसिएको बेला नेपालको तीन दिने भ्रमणका लागि आज काठमाडौं आउनु भएका पास्कोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै शान्ति प्रकृया चुनौतीपूर्ण मोडमा रहेको टिप्पणी गर्नुभयो । उपमहासचिव पास्को विमानस्थलबाट सीधै महाराजगञ्जस्थित काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास गई कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै शान्ति प्रक्रियाबारे छलफल गर्नुभएको थियो । सात मिनेट लामो भेटमा कोइरालाले पास्कोलाई शान्ति प्रक्रियालाई तार्किक निश्कर्षा पुर्याउन सहयोग जारी राख्न आग्रह गरेको काँग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिनुभयो । भेटपछि संचारकर्मीसँग कुरा गर्दै पास्कोले कोइरालाले शान्ति प्रक्रिया छिट्टै निश्कर्षा पुगेको हेर्न चाहेको बताउनुभयो । कोइरालासँगको भेटपछि पास्कोले कोइराला निवासमा नै कांग्रेस नेताहरु शेरबहादुर देउवा, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, शेखर कोइराला लगायतसँग शान्ति प्रक्रिया, संविधान लेखन र राष्ट्रसंघको भूमिकाबारे छलफल गर्नुभएको थियो । त्यस क्रममा काँग्रेस नेताहरुले माओवादीले सहमतीको उल्लंघन गरेका कारण शान्ति प्रक्रियामा अवरोध उत्पन्न भएको गुनासो गरेका थिए । कांग्रेस नेताहरुसंगको छलफलपछि उपमहासचिव पास्कोले आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभयो । प्रचण्डसंगको भेटमा उहाँले माओवादी लडाकुको संख्याको जानकारी माग गर्नुभएको थियो । भेटपछि पास्कोले प्रचण्डसंग लोकतन्त्रप्रति माओवादीको धारणा र शिविरमा रहेका लडाकुको विषयमा छलफल भएको वताउनुभयो । दलहरु शान्ति प्रकृयालाई निश्कर्षा पुर्याउन सफल हुने विश्वास ब्यक्त गर्दै उहाँले नेपालको शान्तिप्रकृयामा राष्ट्रसंघको सहयोग जारी रहने दोहोर्याउनुभयो ।
|
|
|
|
|