बर्दियाको मैनापोखरामा माओवादी कार्यकर्ताले स्वास्थ्यमन्त्री उमाकान्त चौधरीमाथि ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट मन्त्री चौधरी चढेको गाडीमा क्षति पुगेपनि मन्त्रीलाई केही भएन । मन्त्रीसंगै गएका सभासद्हरु बाद्शाह कुर्मी, मानबहादुर महतो, अजय द्विवेदी भने घाइते भएका छन् । भ्रमण टोलीमै रहेका बर्दियास्थित घोडाघोडी एफएमका प्रबन्ध निर्देशक धु्रव शाह पनि घाइते भएका छन् । सिरहा मझौलिया गाविसको अरङ्गमा अज्ञात समूहले गएराति मिर्चैयाबाट गएको जन्तीमाथि गोली चलाउँदा विजय माली र दिलिप शाह मारिएका छन् । घटनाको विरोधमा सरकारले सुरक्षा नदिएको भन्दै आज स्थानीयबासिन्दाले मिर्चैया सडकखण्ड अवरुद्व पारे । गोली चलाएको आरोपमा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ । दाङको बेला गाविसमा दीपकराज सेनको कुटाइबाट उनकी श्रीमती भूमिकादेवी सेन मारिएकी छिन् । हँसिया प्रहार गरी हत्या गर्ने सेनलाई प्रहरीले पक्रेको छ ।