नेपाललाई फेरि हिन्दू राष्ट्र कायम गर्नुपर्ने मागसहित गत फागुन १७ गतेदेखि पशुपतिको वनकालीमा चलिरहेको सहस्र रुद्रचण्डी महायज्ञको आज समापन गरिएको छ । कालिबाबाले यज्ञ आहुती मन्त्र पढेर महायज्ञको समापन गर्नुभएको थियो । महायज्ञको समापनमा थुप्रैं भक्तजन सहभागी भएका थिए । नौं दिनसम्म निराहार बसी अहोरात्र यज्ञमा होम गर्नुभएका कालीबाबाले महायज्ञस्थलको परिक्रमा गर्नुभएको थियो । परिक्रमा लगत्तै उहाँले तीन सय जना कन्याको पूजा गर्नुभयो । कन्या पूजाका लागि दुई बर्षेखि नौं बर्षा बालिकालाई पानी मात्र खुवाई यज्ञस्थल ल्याइएको थियो । महायज्ञको समापनमा बनमन्त्री दिपक बोहरा, सभासद्हरु र सुरक्षा अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । यज्ञस्थलमा बनाईएका दशवटा कुण्डमा कालीबाबाले होम गर्नुभएको थियो भने दश देवीको पूजा गरिएको थियो । दैनिक ११ लाख दीप प्रज्वलन गरिएको महायज्ञ सम्पन्न गर्न एक करोड चालीस लाख रुपैयाँ खर्च लागेको आयोजकको भनाइ छ । महायज्ञ समापनलगत्तै नेपाललाई हिन्दू राष्ट्र कायम राख्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बनकालीबाटै मोटरसाइकल र्याली निकाल्यो ।