एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले माधव नेपालको नेतृवमा सरकार संचालन भइरहे नेपाल छिट्टै अफगानिस्तान जस्तै असफल राष्ट्र बन्ने दाबी गर्नुभएको छ । एमालेकै कारण देशमा अराजकता बढेको भन्दै उहाँले माधव नेपालले सरकार चलाइरहे नेपाल अफगानिस्तान बन्ने चेतावनी दिनुभयो । आज राजधानीमा आयोजित अर्न्तक्रियामा उपाध्यक्ष भट्टर्राईले मन्त्रीहरुलेनै अपराधीलाई संरक्षण गर्ने गरेको आरोप लगाउनुभयो । संचार उद्यमी जमिम शाहको हत्यामा संलग्नहरु पनि मन्त्रीहरुकै संरक्षणका कारण पक्राउ पर्न नसकेको उहाँको भनाइ थियो । सोही कार्यक्रममा मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारबाट जनताले सुरक्षाको अनुभूति गर्न नसकेको वताउनुभयो । शान्ति सुरक्षा दिन नसके पनि मन्त्रीहरुले तस्करी, कमिसन र भष्टाचारमा राम्रो सफलता हासिल गरेको उहाँको आरोप थियो ।