क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण नेपाली काँग्रेसले आज पनि महाधिवेशनको मिति तय गर्न सकेन । पार्टी मुख्यालयमा आज दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकमा क्रियाशील सदस्यता वितरण सम्बन्धी विवाद समाधान नभएपछि महाधिवेशनको मिति तय हुन नसकेको हो । बैठकमा प्रकाशमान सिंहको संयोजकत्वमा गठित समितिको प्रतिवेदनमाथि थप छलफल गर्नुपर्ने र सो प्रतिवेदन पारित गरेर जानुपर्ने दुई थरी धारणा आएको प्रवक्ता अर्जुन नरसिंह केसीले बताउनु भयो । भोलि विहान बस्ने केन्द्रीय समिति बैठकबाट जिल्ला विवादको अन्त्य र महाधिवेशनको मिति तय हुने बताइएको छ ।