संविधानसभाले संविधान लेखन सम्बन्धि कार्यतालिकामा १० औं पटक संशोधन गरेको छ । पुर्व निर्धारित तालिका अनुसार संविधान लेखन सम्बन्धि काम पूरा हुने छाँट नदेखिएपछि कार्यतालिका फेरि संशोधन गरिएको हो । संविधान सभाको आजको बैठकले संविधान जारी गर्ने मिति जेठ १४ लाई यथावत राख्दै कार्यतालिकामा संशोधन गरेको हो । संबैधानिक समितिले संविधानको पहिलो मस्यौदा तयार गरिसक्नु पर्ने समयसीमा गुज्रेपछि कार्यतालिकामा संशोधन गरिएको हो । पुर्व निर्धारित कार्यतालिका अनुसार संबैधानिक समितिले फागुन २१ गते सम्ममा संविधानको पहिलो मस्यौदा पेश गरिसक्नुपर्ने थियो । तर ११ वटा विषयगत समिति मध्ये दुइ वटाले मात्रै आफ् नो काम पूरा गर्नु र दलहरुबीच थुप्रै विषयमा गम्भीर मतभेद देखिनुले संवैधानिक समितिले मस्यौदा बनाउन नसकेको हो । आज संशोधित कार्यतालिका अनुसार संवैधानिक समितिले अबको ३० दिनभित्र संविधानको पहिलो मस्यौदा संविधान सभालाई बुझाई सक्नुपर्नेछ । संविधान जारी गर्न अब ८० दिन मात्रै बाँकी छ ।