प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको उच्चस्तरीय राष्ट्रिय साक्षरता अभियान समन्वय समितिको बैठकमा निरक्षरता उन्मुलनमा भएका कामबारे समीक्षा भएको छ । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले साक्षरता अभियानबारे कार्यपत्र पेश गर्दै साक्षरता अभियान सफल भए निरक्षरको भोट लिने राजनीतिक अभियान अन्त्य हुने बताउनुभयो । निरक्षरको भोट लिन्न र लिनु हुन्न भन्ने राजनीतिक मान्यता स्थापित भए नेपाल चाडै नै साक्षरहरुको नेपाल हुने दावी उहाँको थियो । आगामी दुई वर्षभत्र निरक्षरता उन्मूलन गर्ने अठोटका साथ सरकारले गत वर्षराष्ट्रिय साक्षरता अभियान कार्यक्रम शुरु गरेको हो । हरेक गाविसका प्रत्येक वडामा एउटा र नगरपालिकाको प्रत्येक वडामा कम्तिमा तीन वटा कक्षा केन्द्र संचालन गरी पहिलो चरणमा ४१ हजार चार सय ३० कक्षा केन्द्रबाट १२ लाख र दोस्रो चरणमा ४४ हजार छ सय ८० केन्द्रबाट करिब १३ लाख गरी २५ लाखभन्दा निरक्षरलाई साक्षर बनाउने सरकारी लक्ष्य राखेको छ ।