खेलकुद पत्रकार दिवस
» Nep » Eng
July 3, 2009 -- Updated 1047 GMT (1632 NST)

आज जुलाई २ तारिख, विश्व खेलकुद पत्रकार दिवस । अन्तराष्ट्रिय खेलकुद पत्रकार महासंघ -एआइपीएस)को स्थापनाको ८५ औं स्थापना दिवस तथा १५ औं अन्तराष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसरमा विश्वभर यो दिवस मनाईदैछ । यसै अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले बिहान प्रभातफेरी कार्यक्रम आयोजना गर्‍यो । नेपाल पत्रकार महासंघका पदाधिकारी, खेल पत्रकार, खेलाडी, खेल पदाधिकारीको सहभागितामा भृकुटी मण्डपबाट सुरु भएको र्‍याली दशरथ रंगशाला पुगेर टुंगिएको थियो । र्‍यालीपछि आयोजित कार्यक्रममा -एआईपीएस) का अध्यक्ष जियानी मेर्लोले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । खेलकुद पत्रकार दिवसका अवसरमा शुभकामना दिंदै नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द्र झाले खेलकुद र विधागत पत्रकारिताको गुणात्मक विकासमा मञ्चले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । महासंघका हरेक क्रियाकलापमा सक्रिय रहेको चर्चा गर्दै महासचिव पोषण केसीले मञ्चलाई महासंघले महत्वपूर्ण एसोसियटका रुपमा लिएको बताए । खेलकुद पत्रकारिताको विकाससँगै चुनौती थपिएको उल्लेख गर्दै मञ्चका अध्यक्ष निरञ्जन राजवंशीले मञ्चले भावी दिनमा खेल पत्रकारको गुणात्मक विकासका लागि प्रशिक्षण चलाइने बताए । राजवंशीले मञ्चको संस्थापना दिवसको दिन भदौं २५ गते बर्षा उत्कृष्ट खेलाडी कार्यक्रम आयोजना गर्ने घोषणा गरे । यसैबीच, यसै दिवसको अवसर पारेर मञ्चको मकवानपुर शाखाले प्रभातफेरी, कास्कीले अन्तरक्रिया, बाँकेले मैत्रीपूर्ण फुटबल र भैरहवाले रक्तदान कार्यक्रम आयोजना गर्‍यो । सन् १९२४ जुलाई २ मा पेरिस ओलम्पिकमा अन्तराष्ट्रिय खेलकुद पत्रकार महासंघको स्थापना भएदेखि निरन्तर रुपमा त्यससंग आवद्ध १ सय ५० भन्दा बढी सदस्य राष्ट्रले हरेक वर्षयो दिवस मनाउँदै आएका छन् ।