कास्की पहिरो
» Nep » Eng
July 3, 2009 -- Updated 1030 GMT (1615 NST)

अविरल वर्षाका कारण कास्कीको देउरालीमा गएराति गएको पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यृ भएको छ । पहिरोबाट आठ वटा घर पनि जोखिममा परेका छन् । देउराली गाविसको वडा नंबर ८ स्थित मल्याङकोट, ठूलो पधेंराका सिमबहादुर गुरुङको घर बगाउँदा उनकी ८० वर्षीया आमा मंगली गुरुङ, २५ वर्षीया बुहारी सोनी गुरुङ र डेढ वर्षीया नातिनी पूणिर्मा गुरुङको मृत्यु भएको हो । पहिरोमा परी सिमबहादुरकी श्रीमति लीलामाया गुरुङ र अर्की नातिनी ११ वर्षीया रेखा गुरुङ सामान्य घाइते भएका छन् । पहिरोले कम्मर सम्म पुरिएका सिमबहादुरलाई राति नै गाउँलेहरु आएर उद्धार गरेका थिए । राति २ बजेतिर घरभन्दा दश मिटर माथिबाट रुख सहित झरेको पहिरोले गुरुङको घर बगाएको थियो । घटना स्थल पोखराबाट करिब ४० किलोमिटर पूर्व पर्दछ । घटना थाहा पाएपछि सातमुहाने देउराली स्थित चौकी र डाँडाकोनाक स्थित चौकीबाट प्रहरी टोली गएको थियो । साथै गएका स्थानीय विकास अधिकारी नरहरि बरालले मृतकका परिवारलाई राहत स्वरुप ३० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । कास्कीकै मिजुरे डाँडा स्थित रुदीखोलामा गएको पहिरोमा परी गत मंगलबार ६७ वर्षीय तारानाथ अधिकारी बेपत्ता भएका छन् । यता, तनहुँको थपे्रेक, वडा नम्बर ५ स्थित गएराति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय कृष्णबहादुर भुजेलको घर पहिरोले बगाउँदा भुजेल, उनकी ३६ वर्षीया श्रीमती भगवती र ११ वर्षीया छोरी सीमाको मृत्यु भएको हो ।