माओवादी नेता मोहन वैद्यले केही देशी विदेशी शक्ति माओवादी र एमालेलाई जुधाएर मुलुकमा राष्ट्रपति शासन लागू गर्ने खेलमा लागेको जिकिर गर्नुभएको छ । रिपोर्टस क्लवले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले ती शक्तिहरुले शान्ति प्रक्रिया र संविधान लेखनमा पनि अवरोध खडा गरिरहेको बताउनु भयो । अहिलेको सरकारलाई चलाउने शक्ति अर्कै भएको दोहोर्याउँदै उहांले आफूहरु कुनै पनि हालतमा यो सरकारमा सहभागी नबन्ने र चाँडै नै माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने दावी गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता डा. रामशरण महतले विधिको शासन र नागरिक सर्वोच्चताको भाषण छाँट्दै हिंड्ने माओवादीले संसद चल्न नदिएर विधि विपरित काम गरेको आरोप लगाउनु भयो । संसद अवरोध जारी राखेर बजेट ल्याउन नदिए अध्यादेश मार्फ बजेट ल्याउने चेतावनी पनि उहांले दिनु भयो ।