अर्थमन्त्रीले मनपरी ढंगले रकम निकासा गरेको भन्दै नेपाली कांग्रेसले आज प्रधानमन्त्री समक्ष आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको टोलीले आज प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी अर्थ मन्त्रालयबाट जथाभावी रकम बाँडिएको र प्रक्रिया समेत पारदर्शी नभएको भन्दै आपत्ति जनाएको हो । अर्थ मन्त्रालयबाट सीधै रकम बाँड्ने काम तत्काल बन्द गर्न पनि कांग्रसको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । कांग्रेसको गुनासोप्रति गम्भीर बन्न प्रधानमन्त्री नेपालले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई निर्देशन दिनु भएको थियो भने आगामी बजेट र्सवदलीय भावना अनुरुपको हुने आश्वासन दिनु भएको थियो ।