विश्वमा सबैभन्दा धनी कहलिएका अमेरिकी नागरिक विल गेट्सलाई पछि पार्दै मेक्सिकोका कार्लोस स्लिम सबैभन्दा धनी बन्न सफल भएका छन् । अमेरिकी पत्रिका फोर्ब्सका अनुसार मेक्सिकोको टेलिफोन कम्पनीका मालिक स्लिमले माईक्रोसफ्टका मालिक गेट्सलाई दोस्रो नम्बरमा धकेलेका छन् । फोर्ब्सका अनुसार कार्लोसको कुल सम्पत्ति साढे ५३ अर्ब अमेरिकी डलर छ भने विल गेट्सको ५३ अर्ब डलर मात्र । विश्व्ाका नयाँ अर्बपतिहरु मध्ये दुई तिहाई एसियाली भएको पनि सो पत्रिकाले जनाएको छ । सो सूचीमा एसियाका २ सय ३४ व्यक्ति सामेल छन् जसमा अर्बपतिको संख्या ७ सय ९३ बाट बढेर १ हजार ११ पुगेको छ । धनाढ्यहरुको सूचीमा १६ वर्षा पहिलो पटक अमेरिकी नागरिक दोस्रो नंबरमा पुगेका हुन् । तेस्रो स्थानमा अमेरिकाका वारेन वफेट छन् भने २९ अर्ब डलर सम्पत्ति रहेका भारतका मुकेश अम्बानी चौथो र २८ अर्ब ७० करोड सम्पत्ति रहेका भारतीय नागरिक लक्ष्मी मित्तल पाचौं स्थानमा छन् । पहिलो पटक पाकिस्तानी नागरिक पनि धनीको सुचीमा पर्न सफल भएका छन् । पाकिस्तानका मियां मोहम्मद मंशा ९ सय ३७ औ स्थानमा छन् । विगत १६ बर्षेखि विश्वमा अर्बपतिहरुमा अमेरिकी र यूरोपेलीहरुको बर्चस्व रहँदै आएकोमा अब एशियालीहरु अग्रपंक्तिमा आईसकेको पत्रिकाले जनाएको छ ।